साउन १६ । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड विजयी भएको छ। साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ।
आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो।
इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान इयान मोर्गनले अविजित ३६ रन बनाए।
यस्तै जेम्स भिन्सले २५ तथा जासन रोयले २४ रन बनाए । आयरल्याण्डका क्रेग योङले २ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो।
आयरल्याण्डका लागि कुर्टिस काम्फरले अविजित ५९ रन जोड्दा एन्डी मार्कब्रिनेले ४० रन बनाए। ग्यारेथ डेन्ली र केभिन ओुब्रायनले समान २२/२२ रन जोडे।
इंग्ल्यान्डका डेभिड विलिले पाँच विकेट लिए। सकिब ममुदको नाममा २ विकेट रह्यो।
जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। दोस्रो खेल अगस्ट १ मा हुनेछ। एजेन्सी


























