काठमाडौं, साउन १५ । साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन बरामदमा प्रहरी मिलेमतोको आशंका देखिएको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेँलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो। उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको थियो। तर अभियुक्त भने फरार हुन सफल भएका थिए।
सो घटनाको अनुसन्धानका क्रममा प्रहरीकै कमजोरीका कारण अभियुक्त भाग्न सफल भएको देखिको, फिल्डमा खटिएका प्रहरीकै मिलेमतोमा बेलैमा घटनाबारे मातहत निकायलाई जानकारी नगराएको, घटनास्थल परिवर्तन गरेको लगायतका कारणले फिल्डमा खटिएका प्रहरी कर्मचारीको मिलेमतोमा उक्त घटना भएको प्रारम्भीक अनुसन्धानले देखाएको एक प्रहरी अधिकारीले जानकारी दिए।
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पूर्वनवलपरासीबाट जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीको समन्वयमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा निशेश सखिया, देवान पटेल‚ विजय पटेल र सन्दीप गुरुङ छन्। गुरुङ ट्याक्सी चालक हुन् भने बाँकी तीन जना नक्कली सुन ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका भारतीय नागरिक रहेको प्रहरी स्रोतले जानकारी दियो।
पक्राउ परेका ट्याक्सी चालकको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका बाँकी तीन जना र फिल्डमा खटिएका प्रहरीको समेत मिलेमतो देखिएकाले उनीहरुसहितलाई गरी चार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दियो। स्रोतका अनुसार तीन जनाभन्दा बढी व्यक्ति संलग्न भएकाले उनीहरुलाई संगठित अपराधको मुद्दा, हतियार समेत भेटिएकाले हातहतियार तथा खरखजना, राजश्व छलेर सुन भित्र्याइएको पाइएकाले राजश्व छली र योसँगै प्रहरीकै मिलेमतोमा अपराध गर्नेहरु उम्किएको भन्दै अपराधीलाई भएको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो।
यसअघि प्रहरीले कमलादीबाट महेन्द्रसालिकतर्फ आउँदै गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी जाँच गर्न रोक्न खोज्दा सेता झोला फालेर भागेको बताएको थियो। उक्त झोलाबाटै सक्कली/नक्कली सुन र म्यागजिनसहितको दुई थान पेस्तोल बरामद भएको थियो। त्यसरी भागेको स्कोर्पियो प्रहरीले खोजे पनि अहिलेसम्म फेला भने पर्न सकेको छैन। उक्त स्कोर्पियोको नम्बर प्लेट नक्कली रहेको अनुसन्धानबाट खुलेको छ। स्कर्पियोको बारेमा अनुसन्धान गरेको प्रहरीले काठमाडौं उपत्यकाकाबाट अहिलेसम्म बाहिर गएको रेकर्ड प्रहरीसँग छैन। जसअनुसार उक्त स्कोर्पियो काठमाडौं उपत्यकामै लुकाएर राखेको हुनसक्ने प्रहरी आशंका छ।
उक्त घटनाको अनुसन्धान गर्न लागि गठित भएको समितिका संयोजक परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाको संयोजक रहेकोमा परिवर्तन गरिएर उनको ठाउँमा महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एसएसपी सुशील यादवलाई संयोग बनाइएको छ।


























