चितवन, साउन १५ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख फेरिएका छन्। यसअघिका चिफ वार्डेन (प्रमुख) नारायण रुपाखेती साउन १४ गते बुधबार विभाग तानिएका हुन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले रुपाखेतीको ठाउँमा प्रमुख भई अणनाथ बराल आउने जानकारी दिए।
बराल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख हुन्। केही वर्षअघि उनी चितवन निकुञ्जकै सहायक वार्डेन थिए। तीन दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा भएका रुपाखेतीको आलोचना भएको थियो।
साउन १ गते निकुञ्जको लिगलिगे पोस्टका सेनाको कुटपिटबाट राप्ती– २ का २४ वर्षीय राजकुमार चेपाङको उपचारको क्रममा साउन ७ गते निधन भएको आरोप छ। घटनामा अन्य चारजना युवामाथि कुटपिट भएको थियो।
त्यस्तै, साउन ३ गते माडीस्थित कुसुमखोलामा रहेका चेपाङको दुई घरमा निकुञ्जले आगजनी र हात्ती लगाएर भत्काउने काम गरेको थियो। यस घटनाको संसदीय समितिमा पनि छलफल भइरहेको छ। जनता, जनप्रतिनिधि, सांसदहरूले यस कार्यको विरोध गरेका छन्।


























