हेटौंडा, साउन १२ । काठमाडौं तराई मधेश दु्रत मार्ग फाष्ट ट्रयाकको प्रस्थान विन्दु अर्थात जेरो किलोमिटरको विषयमा खोकना बासीले निरन्तर विरोध जनाउँदै आएका छन्। जस अनुसार अहिलेसम्म फाष्टट्रयाकको काम खोकना खण्डमा हुन सकिरहेको छैन।
पछिल्लो समय फाष्ट ट्रयाकका लागि अधिग्रहण गरिएका आफ्ना भूमिमा खेती गर्न पाउनु पर्ने माग राख्दै विरोध प्रदर्शन गरिरहेको छ। पछिल्लो समय फाष्ट ट्रयाकको प्रस्तावित बस पार्क खुडोल क्षेत्रमा खोकना बासीले आ–आफ्नो खेतमा धान रोप्दै विरोध प्रदर्शन गरे। असार २० गतेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग समेत गरे।
यही विषयमा बागमती प्रदेशसभामा समेत सांसदले आवाज उठाएका छन्। आफ्नो खेत रोप्न गएका खोकनाका किसानलाई प्रहरीले दमन गरेको भन्दै यस्तो कार्य रोक्नु पर्ने सभामा आवाज उठेको हो।
सांसद्हरुले विकासका नाममा जनतालाई सुकुम्बासी बनाउन नपाइने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सांसद्हरुले बुङ्मति र खोकनाजस्ता ऐतिहासिक भूमि मास्न नहुने, विकासको नाममा निके कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन नहुनेमा जोड दिए।
सांसद् राजकाजी महर्जनले खोकनाबासीका मागबारे बेलैमा प्रदेशको ध्यानाकर्षण हुनु जरुरी रहेको औंल्याए। विकास निर्माणका कारण खोकनाको १० हजार रोपनी उर्वर जमिन बिग्रिँदै गरेको भन्दै उनले त्यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताए।
सांसद् विजया केसीले उर्वरभूमि र मौलिकता सखाप पारेर हुने विकासले हित नगर्ने बताए। ‘बुङ्मति र खोकनाको आफ्नै इतिहास छ। विकासको नाममा निकै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन पाईंदैन। त्यसकारण हाल त्यहाँ जारी आन्दोलनका पीडितको माग पूरा गर्नुको विकल्प छैन,’ उनले भने।


























