साउन ११ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
जिनोआको मैदानमा इन्टरलाई जित दिलाउन रोमेरो लुकाकुले दुई गोल गरे। यस्तै एलेक्सिस सान्चेजले एक गोल थपे।
पहिलो हाफको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। खेलको ८३ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-० को सहज जित दिलाए। घरेलु टोलीलाई हराएसँगै इन्टर लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ।
जितपछि इन्टरले ३६ खेलमा ७६ अंक जोडेको छ। एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो।
इन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ४ अंकले पछि रहेको छ। एक खेल कम खेलेको युभेन्ट्सको ८० अंक रहेको छ।
युभेन्ट्सलाई उपाधि जित्न अब एक जितको आवश्यकता रहेको छ। जिनोआ ३६ अंक जोडेर १७ औं स्थानमा रहेको छ।
सिरी ‘ए’ कै अर्को खेलमा पर्माले ब्रेसियालाई २-१ ले हराएको छ। एजेन्सी


























