साउन ६ । प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिग सम्भावनालाई कायमै राखेको छ।
सोमबार राति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जित निकाल्दै उल्भ्स तालिकाको शीर्ष ६ क्लबभित्र अटाएको छ।
क्यास्टेलो पौडेन्सले ४१ औं मिनेटमा घरेलु टोली उल्भ्सलाई अग्रता दिलाएका थिए। कास्ट्रो ओटोले ६८ औं मिनेटमा गोल गर्दै उल्भ्सको जित सुनिश्चित गरेका थिए।
उल्भ्सले टोटेनहमलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ।
आईतबार चेल्सीबिरुद्ध हुने लिगको अन्तिम खेलले उल्भ्सको गत सिजन भन्दा राम्रो नतिजा हुने/नहुने पक्का गर्नेछ। गत सिजन उल्भ्सले सातौं स्थानमा रहदै लिगको अन्त्य गरेको थियो।
छैटौ स्थानको उल्भ्सले ५९ अंक जोडेको छ। उल्भ्स सातौ स्थानको टोटेनहम भन्दा एक अंकले मात्र अघि छ। क्रिस्टल प्यालेस ४२ अंक सहित १४ औं स्थानमा रहदै शीर्ष डिभिजनमा अडिने पक्का गरिसकेको छ।
अर्को खेलमा एभर्टनले सेफिल्ड युनाईटेडलाई १–० ले हरायो। पाहुना टोलीको जितमा दोस्रो हाफको पहिलो मिनेटमा रिचरलिसनले विजयी गोल गरेका थिए। जित सहित एभर्टन ५३ अंक सहित दसौं स्थानमा उक्लियो। सेफिल्ड ५४ अंक सहित अठौं स्थानमा छ।
अर्को खेलमा ब्राइटन र न्युक्यासलले गोल रहित बराबरी खेल्दै अंक बाँडे। दुवै टोलीले यस सिजन प्रिमियर लिगमै अडिने निश्चित गरेका छन्। ब्राइटन ३८ अंक सहित १५ औं स्थानमा र न्युक्यासल ४४ अंक सहित १३ औं स्थानमा छ। एजेन्सी


























