साउन ३ । बंगलादेश फुटबल महासंघले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक प्रशिक्षण अगष्टको पहिलो साताबाट थाल्ने भएको छ।
दक्षिण एसियाली मुलुक बंगलादेशले कोरोना महामारीका बीच ठप्प रहेको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने जनाएको हो।
बंगलादेश फुटबलले राष्ट्रिय टिममा रहेका ३० खेलाडीलाई कोरोना भाईरस ९कोभिड–१९० को परिक्षण गरेपछि मात्र प्रशिक्षणमा सहभागी गराउने बताएको छ।
उसले खेलाडीलाई साराह रिसोर्ट गजिपुरको क्लोज क्याम्पमा राखेपछि पनि नियमित रुपमा परिक्षण गरिने बताएको छ। खेलाडीमा परिक्षण गर्दा कोरोना पुष्टि देखिएमा टिम बाहिर राखिने महासंघले जनाएको छ।
बंगलादेशले राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने बताएपनि पूर्णकालिन प्रशिक्षण अगष्ट २१ बाट मात्र सुरु हुनेछ । त्यसअघि खेलाडीलाई क्वारेन्टिनमा राखिनेछ।
महासंघले खेलाडीलाई ६–७ जनाको समुहमा राखेर प्रारम्भिक प्रशिक्षण गर्ने बताएको छ।
तोकिएको समयमा अभ्यास सुरु गरेमा बंगलादेश कोरोना महामारीपछि फुटबलमा फर्कने दक्षिण एसियाको चौथो देश बन्नेछ।
यसअघि भुटान, माल्दिभ्स र श्रीलंकाले राष्ट्रिय फुटबल टिमको तयारी सुरु गरिसकेका छ। अखिल नेपाल फुटल संघ (एन्फा) ले समेत आफ्नो तयारी सुरु गर्ने बताएपनि सरकारबाट स्वीकृती पाउन सकेको छैन।
कतार विश्वकप २०२२ को एसिया छनोट अन्तर्गत बंगलादेश समूह ई मा रहेको छ। चार खेल खेलको बंगलादेश पुछारमा रहँदै १ अंक जोडेको छ।
अहिले बंगलादेशका करिब २ लाखमा कोरोना संक्रमित देखिएका छन्। करिब २६ सयले ज्यान गुमाईसकेका छन्। एजेन्सी


























