चितवन, साउन २ । कोरोना कहरका बीच विदेशबाट फर्किएका प्रायःले अब देशमै केही न केही काम गर्ने प्रण गरेका छन्। विदेशबाट फर्किएका मात्र नभई देशभित्रै रहिरहेका युवाहरू पनि हाल कृषि पेशाप्रति आकर्षित भएका छन्। जुन निकै सकारात्मक छ। विगतमा भन्दा कोरोना कहरको समयमा नेपाली युवाहरूको कृषिप्रतिको मोह र सम्मान परिवर्तन भएकाे देखिन्छ। जुन देशका लागि निकै फाइदाजनक पनि छ। केहीले तरकारी, केहीले फलफूल, केहीले पशुपालन र केहीले डेरी व्यवसाय गरिरहेका छन्।
यही क्रममा श्रावण १ गतेबाट भरतपुर महानगरपालिका वडा न १० स्थित शान्ति इन्द्रेणी टोलमा ॐ डेरीको नाममा दूध, दही, घ्यू, पनिर तथा सम्पूर्ण डेरीजन्य उत्पादन बिक्री वितरण शुरू भएको छ। चितवनका ५ जना युवाको समूहले सीपको साथी प्रा.लि. नाममा कम्पनी दर्ता गरी नयाँ व्यवसाय सुरु गरेका हुन्। डेरीले पहिलाे दिनमा नै थोक तथा खुद्रा गरी दैनिक ४०० लिटर दूध बिक्री गरेकाे डेरीका सञ्चालक बलबहादुर पाख्रिनले बताए।
हाल दुग्ध विकास सहकारी संघको सहकार्यमा करिब १० लाख रूपैयाँबाट सुरू गरेको यस कम्पनीले आगामी दिनमा सीपको साथी प्रा.लि.कै नाममा बृहत डेरीजन्य उत्पादनका लागि आवश्यक औजार तथा पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको पाख्रिनले बताए। यसरी युवाहरूलाई कृषि कर्मप्रति आकर्षित गर्न स्थानीय सरकारले पनि विभिन्न तालिम तथा आधुनिक औजारसहित सहयोग गर्न सके कृषिमा भविष्य खाेज्नेहरुलाई थप उर्जा मिल्ने पक्का छ।


























