चितवन । केही दिनदेखि परेको लगातारको वर्षाले पुर्याएको क्षतिप्रति राप्रपा चितवनले दुःख व्यक्त गरेको छ। नारायणी, राप्ती, रिउ, कयरलगायतका नदी तथा खोलानालामा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोले जनधनको क्षति पुर्याएको भन्दै राप्रपा चितवनले शनिबार विज्ञप्ती जारी गरेर दुःख व्यक्त गरेको हो। हरेक वर्ष वर्षायाम सुरू भएसँगै विभिन्न स्थानमा बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण सर्वसाधारण जनता प्रभावित हुँदै आएको छ।
त्यसैले विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ। पार्टी अध्यक्ष रुद्रप्रसाद ढकालले वर्षाका कारण चितवनसहित छिमेकी जिल्लाबाट बग्ने खोलानालाको जलस्तर बढ्न गई बाढीको जोखिम बढ्न सक्ने भन्दै सतर्क र सुरक्षित रहन विज्ञप्तीमार्फत आग्रह गरे।
विपदको बेला जस्तोसुकै अवस्थामा पनि उद्धार र आवश्यक पूर्व तयारीमा जुट्न पार्टी कार्यकर्तालाई समेत आग्रह गरेको छ। विपदका बेला उद्धारमा जुटन पार्टीका जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमितिसहित भातृ संगठन एवं पार्टी कार्यकर्ताहरुलाई स्थानीय निकायसँग समन्वय गरी मानवीय सेवामा खटिन पनि राप्रपाले निर्देशन दिएको छ।


























