हेटौंडा, असार २६ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई द्वारा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा बाढीका कारण भएको मानविय र भौतिक क्षेति प्रति दुःख व्यक्त गरेकाछन्।
अविरल वर्षासंगै आएको भिषण बाढिका कारण मानिसको मृत्यु हुनका साथै अझै मानिस बेपत्ता छन्। भौतिक क्षति पनि त्यतीकै छ। यस घटना प्रति प्रदेश प्रमुख प्रसाईले दुःख व्यक्त गरेकाहुन्। यस दुःखद घडिमा शोकसन्तप्त परिवारमा समवेदना सहित घाईतेहरुको शिघ्रस्वास्थ्यलाभको कामना समेत उनले व्यक्त गरेकाछन्।
खोजि तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारि बनाउन कुनै कसर बाँकि नराख्न बागमती प्रदेश सरकारको उनले ध्यानाकर्षण समेत गराएकाछन्। मुलुकभर अस्ती रातिदेखि चार दिन लगातार भारी वर्षाहुने तथा विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुन सक्ने मौसम पुर्वानुमान गरिएकोले सबै तहको सरकारलाई उच्च सावधानीमा (हाई अलर्टमा) रहन प्रदेश प्रमुख प्रसाइले आग्रह गरे।
हालसम्म प्राप्त विवरण अनुसार बाह्रविसे नगरपालिका जम्बुमा दुईजनाको मृत्यू भएको छ साथै पहिरोमा परि यहि गाउँका १८ जना बेपत्ता र तीन जना गम्भिर घाईते भएका छन्। यसै गरि भोटेकोशी गाउँपालिकाको बुलकोटेमा चार जना बेपत्ता र तीन जना गम्भिर घाईते भएका छन्। यस बिपत्तिमा परि हराएकाहरुको खोजी कार्य जारी छ। घाईतेहरुलाई उद्दार गरि अस्पताल पुर्याईएको छ र हालसम्म सबैकोे अवस्था खतरामुक्त छ।
यो प्राकृतिक विपदमा परि दिवंगत भएकाहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्तगरेकाछन्। घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाछन्। यस विपदको घडीमा उद्दार र खोजी कार्यमा जुट्नुहुने स्थानिय जनता, जनप्रतिनिधीहरु, विभिन्न राजनीतिक पार्टीका साथीहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरु लगायत सबैमा हार्दिक धन्यवाद समेत उनले दिएकाछन्।
सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्। बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन्। बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्याएको छ।
स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। निकेशकी पत्नी सविना बस्नेत गम्भीर घाइते भएकी छन्।
जम्बु खोलाको बाढीले बाह्रबिसे नगरपालिका ५ मा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका ५ मा बढी क्षति पुगेको छ । बाह्रबिसे ५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन्।
बाह्रबिसे नगरपालिका–५ जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका प्रहरीले जनाएको छ। त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएको डीएसपी काफ्लेले जानकारी दिए।
भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन्। नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी पनि घाइते भएकी छन्। त्यहाँ एउटा डोजर र एउटा जिपमा क्षति भएको छ।
बाढीका कारण बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्याएको छ।
बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध भएको छ।
त्यस्तै, खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ। त्यहाँ १०र११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ।
त्यस्तै बाह्रबिसे नगरपालिका–८ जुरे नजिक भोटेकोशी नदीले १०० मिटर सडक कटान गरेको छ। सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ।
भोटेकोशी गाउँपालिका– ५ मै झ्यालेखोलाले ठाउँ ठाउँमा सडक कटान गरेको छ। बाढीले ल्याएको माटोका थुप्रिएका कारण कारण अरनिको राजमार्ग अवरुद्ध भएको डीएसपी काफ्लेले जानकारी दिए। बेपत्ताहरुको खोजी भइरहेको उनले बताए।


























