चितवन, असार २६ । गएराति देखि परेको अबिरल वर्षासंगै माडी नगरपालिका पनि प्रभावित भएको छ। विशेषगरि नगर क्षेत्रको तल्लो तटिए क्षेत्रहरू बढी प्रभावित भएका छन्।
अहिले सम्म माडी क्षेत्रमा पछिल्लो २४ घण्टाको विवरण अनुसार (आर. आर.एन.) को अफिस बसन्तपुरमा रहेको बर्षा मापन यन्त्रमा ११० मिलि लिटर पानी मापन गरिएको छ ।
वडा नं.९ का अध्यक्ष शिवहरि सुवेदीका अनुसार घाँघर खोलामा आएको बाढीले त्यहा लगाईएको ९९ मिटर लामो ड्याममा क्षति पुगेको छ। उक्तड्याममा लगाईएको ४० थान तारजाली सहितको ड्याम बगाएको सुवेदीले बताए।
यस्तै वडा नं.३ का अध्यक्ष पुरन महतोले रिउखोलामा आएको बाढीले सिमरा आउँजाउँ बन्द भएको बताए। पानीको निकासीमा समस्या हुँदा मलाहि टोल डुवानमा परेको छ। पहिलाको जस्तो रिउखोला, मगोईखोला, रौतनि खोलामा लगाईएको तारजाली सहितको ड्यामले खोलाको पानी बस्तिमा पस्ने अवस्था छैन। “ड्याम फुट्यो/भत्कियो भने बस्तिमा बाढी पस्ने खतरा हुन्छ, हाल सम्म त्यो खतरा छैन उनले भने”।
वडा नं.७ का अध्यक्ष बालकृष्ण सापकोटाका अनुसार रिउखोलाले कटान गर्दै आएर त्रिवेणीधाममा रहेको गोलघर बगाएको छ। मन्दिर पनि जोखिममा रहेको उनको भनाई छ। रिउ खोलाले चेपाङ बस्ति समेत प्रभावित भएकोछ।
स्थानिय कमल चेपाङका अनुसार अहिले खोलाको पानी बस्ति सम्म आएको छैन तर लगातार पानी परेर बाढी अझै बढ्यो भने बस्तिमा पानी पस्न सक्ने खतरा रहेको बताईन्।
वडा नं.२ का अध्यक्ष ईश्वरीप्रसाद ढकालका अनुसार बढी जोखिममा रहेको बैराठ, पौवारी, भैरवपुरको तल्लो क्षेत्र र मगोईखोला तर्फ भैरबपुर, जिवनपुरमा एकाध ठाउमा डुवान बाहेक अबस्था सामान्य रहेको छ।
वडा नं.१ का अध्यक्ष कृष्णप्रसाद पौडेलले रिउ तथा डाङ्ग्रे खोलामा आएको बाढीका कारण बनकट्टा, गर्दि(सेरुवा क्षेत्रका घर, खेत तथा बाटो डुवानमा परेको बताए।
वडा नं.५ का अध्यक्ष रामबन्धु पोख्रेलका अनुसार खेतको पानी निकासिमा समस्या हुदा ब्रह्मपुरीका केही बाटोहरू जलमग्न भएको छ। बाटोलाई सहज बनाउन पानी निकासिको काम भैरहेको छ। अहिले सम्मलाई अन्य अबस्था सामान्य छ।
वडा नं.८ का अध्यक्ष कृष्णराज अधिकारीका अनुसार पानीको निकासीमा समस्या हुदा केही ठाउँहरू डुवानमा रहेको, खोला तथा घोलमा आएको बाढीले आवत/जावत प्रभावित भएको छ।
वडा नं.६ का अध्यक्ष भरत बहादुर गुरूङले खेतबारीको पानी निकासिमा समस्या हुदा बसन्तपुरको २ घरमा सामान्य पानी पसेको बताए। अन्य अबस्था सामान्य रहेको उनले जानकारी दिए।
यस्तै वडा नं.४ अध्यक्ष चन्द्रदिप महतोका अनुसार वडाभरि अवस्था सामान्य रहेको छ। एकाध ठाउमा खेतको पानीको निकासमा समस्या देखिएको छ। केही विजुलीका पोलहरू सामान्य ढल्किएका छन्।
माडीका सबै ठाडाँ खहरे खोलाहरू हुलाकि सडकमा पर्ने हुदा, खोलाहरूमा आएको बाढीका कारण पुल नभएका स्थानमामा यातायात पुर्णरूपमा प्रभावित भएका छन्।
मगोई खोला नजिक रहेको आईटेन्सन लाईनको पोल लड्ने अवस्थामा रहेकाले विद्युत प्राधिकरणका प्रतिनिधि (कर्मचारी) स्थलमै पुगि मर्मतको तयारीमा रहेकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ। कुनै समस्या आईपरेमा आफुलाई पाएक पर्ने गरि आ-आफ्नो वडाका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई सम्पर्क गर्न माडी नगरपालिकाकाका डि.आर.आर. फोकल पर्सन गोविन्द न्यौपानेले अनुरोध गरेकाछन्।


























