असार २६ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेल म्यान्चेष्टर सिटीले घरेलु मैदान आयोजना गर्न पाउने भएको छ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पियन्स लिगको अन्तिम १६ को बाँकी रहेको दोस्रो लेगको खेल घरेलु टोलीको मैदानमा खेलाउने निर्णय गरेको हो।
युईएफएले अन्तिम १६ को दोस्रो लेगको बाँकी खेल न्युट्रल भेन्युमा नखेलाउने निर्णय गरेसंगै सिटीले ईतिहाद स्टेडियममा रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्न पाउने भएको हो।
पहिलो लेगको खेलमा सिटीले रियल मड्रिडबिरुद्ध २–१ ले जित निकालेको थियो।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल स्थगित भएको थियो।
अनिश्चित बनेको च्याम्पियन्स लिगको यस सिजनको बाँकी खेल अगष्टमा पोर्चुगलमा आयोजना गर्ने पक्का भएको छ। तर च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगका बाँकी खेलको स्थान टुङ्गो लाग्न बाँकी थियो।
युईएफएको पछिल्लो निर्णयसंगै च्याम्पियन्स लिग र युरोपा लिगका अन्तिम १६ का बाँकी खेल घरेलु टोलीले आफ्नै मैदानमा खेल्न पाउनेछन्। सबै खेल बन्द रंगशालामा दर्शक विहिन खेलाईने समेत यूईएफएले प्रष्ट पारेको छ। एजेन्सी


























