काठमाडौं, असार २६ । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ।
बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’
यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो।
नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ।
पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो।
प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन्। प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्नु पर्ने दबाब दिँदै आएको छ।


























