काठमाडौं, असार २५ । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ।
संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो।
संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेका हुन्।
संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ।
संघीय संसद सचिवालयले प्रतिनिधि सभामा एक पद रिक्त हुन आएको व्यहोरा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा (२) र प्र.स. नियामावली, २०७५ को नियम २१२ को उपनियम (३) बमोजिम निर्वाचन आयोगलाई जानकारी गराई सकिएको छ।
नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई निष्कासन गर्ने निर्णयय गरेको थियो।


























