काठमाडौं, असार २५ । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
बिहीबार मन्त्रिपरिषदका निर्णयको प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने निर्णय भएको जानकारी दिएका छन्।
काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र चल्न पाउने निर्णय सरकारले गरेको छ।
सरकारले सार्बजनिक यातायात संचालन गर्दा सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाउने र यो व्यवस्था कायम हुन्जेल तोकिएको भाडा दरमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने समेत निर्णय गरेको छ।
साथै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा संक्रमणमुक्त गराउनु पर्ने निर्णय सरकारले गरेको छ।
सरकारले आज निर्णय घोषणा गरेकाले यो घोषणा शुक्रबार देखि नै लागु हुने प्रवक्ता खतिवडाले बताए।


























