असार २५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।
बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे।
न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे।
खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। २१ औं मिनेटमा महरेजले गोल गरेपछि सिटी पहिलो हाफमा २-० ले अघि रह्यो।
खेलको ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गर्दा सिटी ३-० ले अघि रह्यो।
खेलको ६६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए।
जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ।
सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २० अंकले पछि रहेको छ। लिभरपुलको ८९ अंक रहेको छ।
४३ अंक जोडेको न्युकासल १३ औं स्थानमा रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाइटेडले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै बर्नलीले वेष्ट ह्यामलाई १-० ले नै हराएको छ। एजेन्सी


























