असार २५ । मोहमद सालाह चम्किएको खेलमा लिभरपुलले प्रिमियर लिग फुटबलमा ब्राईटनलाई हराएको छ।
एनफिल्ड स्टार सालाहले दुई गोल गरेको खेलमा बुधबार राति लिभरपुलले ब्राईटनलाई ३–१ गोल अन्तरले हराएको हो।
सालाहले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाए। कप्तान जोर्डन हेन्डरसनले आठौं मिनेटमा पाहुना लिभरपुलको अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्तिम मिनेटमा लिन्ड्रो ट्रोसर्डले गोल गर्दै ब्राईटनलाई खेलमा फर्काउने संकेत गरेका थिए। तर सालाहले ७६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए।
यस सिजनको च्याम्पियन लिभरपुलले महत्वपूर्ण तीन अंक बटुलेको छ। जितसंगै लिभरपुल कीर्तिमानी अंकतर्फ अघि बढेको छ। लिभरपुल यस सिजन सिटीले कायम राखेको सय अंकको कीर्तिमान पार गर्न चाहन्छ।
लिभरपुलले यस सिजन ३४ मध्य ३० खेलमा जित हासिल गरेको छ। जसमा दुई बराबरी र दुई हारको नतिजा रहेको छ।
शीर्ष स्थानको लिभरपुलले ९२ अंक बटुलेको छ। उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग २३ अंकको अग्रता लिएको छ। ब्राईटोन ३६ अंक सहित १५ औं स्थानमा छ। एजेन्सी


























