काठमाडौं, असार २२ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो। उनी मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुन्।
‘मन्त्रालयले ऐन कार्यान्यनको सुरुवात गरेको छ। यसै सन्दर्भ राखेपको दैनिक कार्यहरु संचालनका लागि मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुखको हैसियतमा मलाई जिम्मेवारी तोकिएको छ,’ कार्यवाहक सदस्य सचिव नियुक्त भएपछि ढकालले भने, ‘राखेपको दैनिक प्रशासनिक कार्य सुचारु होस् भनेर सदस्य सचिवको पूर्णता नभईन्जेल सम्मका मलाई नियुक्त गरिएको हो।’
नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ।
खेलकुद विकास ऐन २०४८ निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो।
जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो।
मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्त गर्ने बताईसकेको छ।
नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ।
समितिले योग्यता पुरा भएका ब्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त ब्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ।
समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषद्मा पेश हुने उल्लेख छ। मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ।
सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ।
नयाँ ऐन अनुसार सदस्य सचिव हुन नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र तीस वर्ष उमेर पुरा भएको योग्यता राखिएको छ।


























