नयाँदिल्ली, असार २२ । भारत र चीनका सेनाहरु झडप भएको सीमा क्षेत्र गलवानबाट पछि हट्न थालेका छन्। २० जनाको ज्यान जाने गरी झडप भएको एक महिनापछि दुबै देशका सेना लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा क्षेत्रबाट फिर्ता भएका हुन्।
फौजका कमाण्डर तहको वार्ताको पाँच दिनपछि सेना फिर्ता भएका हुन्। सम्झौता अनुसार दुबै देशले जुलाइ ५ सम्म सेना फिर्ता गनुपर्ने समति भएको थियो। भारतीय मिडियाका अनुसार जुलाइ ५ को साँझदेखि नै सेना फिर्ता गर्ने काम सुरु भएको हो। साथै अब छिट्टै त्यस क्षेत्र खाली गर्ने तयारी भएको बताइएको छ।
सोमबार केही सवारी साधन सीमा क्षेत्रमा सिपाहीहरुलाई लिन पुगेका छन्। गत महिना गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही आइतबार सीमा क्षेत्रमा वस्तुस्थिति बुझ्न पुगेका थिए। लामो रस्साकस्सीपछि दुबै देशका सेना झडप भएको सीमा क्षेत्रबाट पछि हटेका हुन्। एजेन्सी


























