काठमाडौं, असार १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित भएका छन्। नेपाली कांग्रेसका पूर्व-सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन।
उनले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे। अहिले गाउँ ठाउँ स्कुल कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए। पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिए।
उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्। गाउँ ठाउँमा सबै स्कुल कलेजमा जित्नुस्। जहाँ पनि हारेको हार्यै छ नेविसंघ लाज पनि छैन। हामी सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन।’ गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो नहुनेमा उनको जोड छ।
भविष्यमा प्रधानमन्त्री बन्न लायक विद्यार्थी नेता देखिएन
उनले अहिले नेवि संघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए। उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताए। आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताए।
उनले भने ‘अहिलेको कुरा केही होइन सबै कुरा हुन्छ। म नेवि संघको सभापति पनि हुँ। तीनपल्ट प्रधानमन्त्री भइसकेँ तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले लाज पनि छैन यहाँ।’ सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्नसमेत गरे। उनले यस्तो बेला सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिए।


























