असार १९ । दक्षिण एसियाली मुलुक श्रीलंकाले सुपर लिग फुटबल नोभेम्बरको अन्तिमबाट सुरु गरिने भएको छ।
एसियाली फुटबल महासंघ ९एएफसी०ले श्रीलंकन सुपर लिग नोभेम्बरको अन्तिममा सुरु हुने जनाएको हो।
श्रीलंकन सुपर लिगमा १० टिम सहभागी रहेका छन्। यसअघि प्रतियोगिता अप्रिलमा सुरु हुने भएपनि कोरोना महामारीका कारण लिग स्थगित भएको थियो।
तोकिएको समयमा लिग सुरु भए श्रीलंका दक्षिण एसियामा कोभिड–१९ पछि फुटबल सुरु गर्ने पहिलो राष्ट्र बन्नेछ।
कोरोनाका कारण नेपालमा समेत फुटबल गतिविधि ठप्प छ। अन्य देशको समेत अवस्था उस्तै छ। यद्यपि दक्षिण एसियाली भुटानले भने राष्ट्रिय टिमको तयारी सुरु गरिसकेको छ। नेपालले समेत अर्को महिनाबाट राष्ट्रिय टिमको तयारी सुरु गर्ने बताएको छ।
श्रीलंकन सुपर लिगमा डिफेन्डर एससी, सेआ हक्स एससी, ब्लू ईगल, कोलम्बो एफसी, रेनाउन एससी, रत्नम एससी, रेड स्टार एससी, ब्लू स्टार एससी, अप कन्ट्री लायन्स एससी र न्यु योङ्ग जस्ता टिम रहेका छन्।
‘ब्यवसायीक लिग प्रतिस्पर्धा मात्रै हैन। यो पुर्ण रुपमा नयाँ फुटबल उद्योग हो। जसले अब ३ सय खेलाडी, प्रशिक्षक र अन्य पदाधिकारीको लागि ब्यवसायीक रोजगार हुनेछ। जसले फुटबल उद्यमीलाई नयाँ फुटबल ब्यापारको अवसर पनि प्रदान गर्दछ।’ श्रीलंका फुटबल महासंघका महासचिव जस्वार उमरले स्थानीय मिडियालाई भनेका छन्।
श्रीलंकाको सुगातादास स्टेडियममा ६ महिलाको लामो सुपर लिग आयोजना हुनेछ। हाल श्रीलंकामा १० क्लब एएफसी लाईसेन्स प्राप्त छन्। नेपालमा भने कुनै पनि क्लबले एएफसी लाईसेन्स प्राप्त गर्न सकेका छैनन्। एजेन्सी


























