असार १९ । प्रिमियर लिगको यस सिजनको उपाधि विजेता लिभरपुलले ईतिहाद स्टेडियममा नमिठो हार आत्मसाथ गरेको छ।
बिहिबार राति साविक विजेता सिटीले घरेलु मैदानमा लिग च्याम्पियन लिभरपुललाई ४–० ले हराएको छ।
सिटीको जितमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे। घरेलु टोलीले एक आत्मघाति गोल उपहार पाएको थियो।
लिभरपुलले ३० बर्षपछि प्रिमियर लिगको उपाधि जितेको छ। गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि लिभरपुलको उपाधि यात्रा सम्भव भएको थियो। तर ‘गार्ड अफ अनर’ सहित ईतिहादमा सम्मान गरेको सिटीले लिभरपुललाई लज्जास्पदक हार दिलायो।
डी ब्रुईनीले पेनाल्टीमा सिटीलाई अग्रता दिलाए। जोए गोमेजले स्टर्लिङलाई डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो। उनै स्टर्लिङले काउन्टरमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाएका थिए।
ब्रुुईनीसंगको तालमेलमा फोडिनले पहिलो हाफको अन्तिम मिनेटमा सिटीलाई ३–० ले अघि बढाए। उनले सिटीका लागि सिजनको सातौं गोल गर्न सफल रहे। लिभरपुलका अक्सलाडे चेम्बरलिनले ६६ औं मिनेटमा आत्मघाति गोल गरेपछि सिटी ४–० ले अघि बढेको थियो।
साविक विजेता सिटीले लिग विजेता लिभरपुलमाथि फराकिलो जित निकाल्दै राहतको महशुश गरेको छ। दोस्रो स्थानको सिटीको ६६ अंक छ। उपाधि विजेता लिभरपुलको ८६ अंक छ। एजेन्सी


























