काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु जरुरी रहेको बताएका छन्। र यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने नभएको प्रधानमन्त्रीको भनाई छ।
‘धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ’, १७औं धान दिवसको अवसरमा सोमबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।
उनले कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको बताएका छन्। ‘यसले मुलुकको परनिर्भरता समेत बढाएको छ’, उनको भनाई छ, ‘यसै तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ।‘
खाद्य संप्रभूताको प्रत्याभूति गर्ने महान दायित्व र संकल्पको कार्यान्वयनका लागि नेपालमा कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन सकियोस् भन्नेमा आफूले विशेष प्रयास गरेको प्रधानमन्त्रीको भनाई छ। ‘यसै हेतुले नेपाल सरकारले प्रमुख खाद्यान्न बालीहरुको उत्पादन तथा उपलब्धतामा बृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोग मार्फत् खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएको तथ्य पनि सर्वविदितै छ’, शुभकामना सन्देशमा भनिएको छ।


























