असार १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ।
बिहीबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी चेल्सीसँग २-१ गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे। सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए।
रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
तर, ५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए।
खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो।
त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो। जसमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए।
चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो।
लिभरपुललाई उपाधिका लागि एक जित आवश्यकता रहेको थियो।
तर, सिटीले अंक गुमाएपछि लिभरपुल च्याम्पियन बनेको हो।
सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो।
चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ।
सिटीको ३१ खेलमा ६३ अंक रहेको छ। लिभरपुलको ८३ अंक रहेको छ।
सिटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ। चेल्सी चौंथ स्थानमा रहेको छ। एजेन्सी


























