हेटौंडा । केन्द्रमा पार्टी एकता भएसँगै जिल्ला र स्थानीय तहरुको संरचना समायोजनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ अघि बढाएको छ। यस क्रममा मकवानपुर जिल्लामा राप्रपा र तत्कालीन राप्रपा (संयुक्त) बीच साेमबार समायोजन भएको छ। जिल्ला तहको समायोजन पश्चात राप्रपा मकवानपुरको अध्यक्षमा मधु अधिकारी चयन भएका छन्। अधिकारी यसअघि पनि राप्रपा अध्यक्ष थिए।
यसैगरी उपाध्यक्षमा तत्कालीन राप्रपा (संयुक्त)का अध्यक्ष ज्ञानेन्द्र ढुङ्गेल चयन भएका छन्। राप्रपाको साविक जिल्ला कार्य समितिलाई कायम राख्दै राप्रपा (संयुक्त) का तत्कालीन जिल्ला समितिलाई समावेश गर्ने सहमति भएको अध्यक्ष अधिकारीले बताए। अहिलेको मार्गचित्रबाट देश डरलाग्दो भड्खालोमा जाने भन्दै अबको बिकल्प राप्रपा भएको पनि अध्यक्ष अधिकारीले दाबी गरे।
पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले मुलुकलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यसको परिपुर्तिको निमित्त पार्टी एकता गरिएको बताए। हिजोको टुटफुटको घटना अब एकादेशको कथा हुने भन्दै बर्तौलाले अहिलेको एकता भावनात्मक र चिरस्थायी भएको दाबी गरे। ‘एकताको जग बलियो छ, अब हल्लिँदैन। हिजोको त्रुटि, कमजोरीबाट पाठ सिकेका छौ , सच्चिदै अघि बढ्छौँ, राप्रपालाई इमानदार कार्यकर्ताको बलमा जुरुक्क उठाउँछौँ,’ घोषणा कार्यक्रममा बोल्दै बर्तौलाले भने।
कार्यक्रममा नेताहरु रामहरि न्यौपाने, ज्ञानेन्द्र ढुङ्गेल, बद्री अधिकारी र सागर थापाले पार्टी एकताले कार्यकर्ता तहमा मात्र नभई जनतामा पनि सकारात्मक सन्देश गएको भन्दै अब संगठन निर्माणमा केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरे। साेमबार सम्पन्न समायाेजसँगै अब राप्रपा मकवानपुर जिल्ला समिति ८३ सदस्यीय बनेको छ।


























