काठमाडौं, असार ८ । अब काठमाडौंमा कुकुर पाल्न अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण नयाँ नियम ल्याउने तयारी गरिएको महानगरको तर्क छ। सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएको अधिकारीहरू बताउँछन्।
महानगरपालिकाले आगामी आर्थिक वर्षका बजेटमा सो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ।
कर पनि तिर्नुपर्ने
महानगरपालिकाले लागू गर्न लागेको नयाँ नियम लागु भए महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ। कति कर लिने भन्ने विषय बजेटमा आउने भएको छ। कर लिएसँगै महानगरपालिकाले सेवा पनि दिने योजना बनाएका छ।
जीपीएस ट्रयाकर पनि:
घरपालुवा कुकुरलाई अलपत्र छाड्ने अवस्थाको अन्त गर्न महानगरपालिकाले घाँटीमा जीपीएस ट्रयाकरको पनि व्यवस्था गरिने बताएको छ।
जीपीएस ट्रयारका आधारमा कुकुर पालेका व्यक्ति लगायतका विवरण उपलब्ध हुने हुँदा अलपत्र छोडिने अवस्थामा सुधार हुने महानगरको अपेक्षा छ।


























