न्युयोर्क, असार ८ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो चौबीस घण्टामा थपिने कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक भएको जनाएको छ। डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन्।
सबैभन्दा धेरै उत्तर र दक्षिण अमेरिका थपिएको डब्लूएचओले जनाएको छ। जहाँ पछिल्लो चौबीस घण्टामा एक लाख १६ हजार संक्रमित पुष्टि भएका हुन्।
अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाखभन्दा धेरै पुगेको छ। कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
संक्रमित संख्या १० लाखभन्दा बढी भएको पुष्टि गरेको ब्राजिलमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा विश्वमा दोस्रो बढी रहेको छ। तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक संख्या अझ बढी हुन सक्ने बताएका छन्।
मृत्यु हुने र संक्रमित हुने व्यक्तिहरूको संख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जयर बोल्सोनारोको दबाबका कारण ठूला सहरहरू फेरि खुला गर्न थालिएका छन्। एजेन्सी


























