काठमाडौं, असार ८ । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनर्विचार गर्न आग्रह गरेका छन्।
सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे।
उनले तराई मधेसका जनताको भारत सीमाक्षेत्रका नागरिकसँगको विवाह सम्बन्ध तोडेर मुलुकको राष्ट्रियता बलियो नहुने तर्क गर्दै भारतसँगको सांस्कृतिक सम्बन्ध कसैले तोडेर नटुट्ने बताए। साथै उनले निर्णयमा पुनर्विचार गर्न आग्रह गरे। उनले मुलुकको परराष्ट्र नीति दुई छिमेकी चीन र भारतसँगको समुदरीका आधारमा हुनुपर्ने बताए।
सांसद मृगेन्द्रकुमार सिंह यादवले नागरिकता विधेयक सम्बन्धमा नेकपाले सहमतिको बाटो छोडेर निर्णय गरेको भन्दै यसमा दुःख लागेको बताए। उनले उक्त निर्णयले तराईका समुदायको संस्कृतिमाथि अतिक्रमण हुने आरोप लगाए।
रासस


























