चितवन, असार ८ । चितवन जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ।
राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो।
महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो। तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पुर्याइने नगरपालिका प्रमुख प्रभा बरालले बताइन्। बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ।
तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ। यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन्। तीमध्ये १० महिला छन्। उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उनले बताइन्।
राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ। यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो। रासस


























