चितवन, असार ८ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मत गरी तयारी अवस्थामा राखिने भएको छ। स्नान गर्ने ठाउँबाट पानी बाहिर गएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको थियो।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मलीकरणको काम आइतबार सम्पन्न भएको छ। आजै प्राविधिक समूहले निरीक्षण गरी आवश्यक मर्मतसम्भार गरिने उनले जानकारी दिए। मर्मतसम्भारका लागि आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन्।
धेरै खर्च लागेमा स्थानीय तहसँग समन्वय गर्न सकिने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मतसम्भार गर्ने तयारी गरेको छ। सो अस्पतालको पाँच कोठामध्ये एउटा कोठामा बाहिर पानी आएको हो। एउटा कोठामा १० वटा श्यया राखिएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बिरामी थप भएमा राख्नका लागि कोरोना अस्पताल तयारी अवस्थामा राखिने बताए।
सो अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अवस्थामा राखिने छ। सरकारले कोरोना सङ्क्रमितको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ। दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौँ हो। तिवारीले लक्षण नदेखिएका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न सकिने बताए। हाल भरतपुर अस्पतालको आइसोलेसनमा २७ जना सङ्क्रमित रहेका छन्। अस्पतालको आइसोलेसनमा ७५ जना अट्ने क्षमता रहेको छ। त्यसमध्ये १० श्यया सघन उपचार कक्ष हो।
भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर कोरोना अस्पताल स्थापना गरी सञ्चालनका लागि वैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो। भरतपुर अस्पतालमा सङ्क्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रवेशद्वार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्गले राखिएको छ। रासस


























