काठमाडौं, असार ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेकोछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सुरु भएको बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय लगायतका विषयमा छलफल हुनेछ।
यस्तै संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
नागरिकता ऐन, २०६३ संशोधन विधेयकका सन्दर्भमा वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयमा दलहरूबीच विवाद छ। कांग्रेसले मौजुदा व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएको छ सत्तारूढ नेकपाले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानमा कम्तिमा ७ वर्षको सीमा राख्नुपर्ने बताउँदै आएको छ।


























