काठमाडौं, असार ६ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ।
गिरीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो।
महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले शुक्रबार उजुरी दिएका हुन्।
सांसद गिरी जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको अभिव्यक्ति दिएकी थिइन्।
उजुरीमा गिरीको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई तत्काल पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गरिएको छ।
गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार हदैसम्मको सजाय गर्न माग गरिएको छ।


























