असार ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) ठुला क्लब म्यानचेस्टर युनाइटेड र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ।
कोरोना भाईरसको महामारीबीच सुचारु लिगपछि युनाइटेडले पहिलो खेलमा टोटेनहमसँग खेल्न लागेको हो।
टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।
ह्वाइट हर्ट लेनमा मैदान उत्रदा दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछ। त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ।
घरेलु मैदानमा टोटेनहम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। लिगको आठौं स्थानमा रहेको टोटेनहमले ४१ अंक जोडेको छ।
घरेलु मैदानमा जित निकाले टोटेनहम शीर्ष ६ मा पुग्नेछ।
युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका जोसे मोरिन्होलाई चोट मुक्त खेलाडीले राहत दिनेछ।
कप्तान ह्यारी केन र विंगर सन ह्युङ मिन युनाइटेडविरुद्ध खेल्ने छन्। चोटका कारण दुवै खेलाडी लामो समय टिमबाहिर रहेका थिए।
चोटकै कारण मैदान बाहिर रहेका मिडफिल्डर मौसा सीसीको समेत युनाइटेडविरुद्धको खेलबाट मैदान फर्कने बताईएको छ। प्रतिबन्धका कारण डेली अली टिम बाहिर रहेका छन्।
तर, बलियो युनाइटेडविरुद्ध जित निकाल्न टोटेनहमलाई सहज भने हुने छैन। किनकि युनाइटेड पनि जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ।
पाँचौं स्थानको युनाइटेडले ४५ अंक जोडेको छ। घरेलु टोलीलाई पराजित गरे युनाइटेड चौंथो स्थानमा उक्लने छ।
ओले गुनर सोल्सायरले टोटेनहमविरुद्ध लामो समय मैदान बाहिर रहेका पाउल पोग्बालाई मैदान उतार्ने सम्भावना रहेको छ। चोटका कारण मिडफिल्डर पोग्बा गत सेप्टेम्बरबाट खेलेका छैनन्।
प्रिमियर लिग अन्तर्गत नै शुक्रबार नर्विच सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ। एजेन्सी


























