जनकपुरधाम, असार ५ । प्रहरीले सिराहाबाट लागूऔषध बोकेका एक भारतीयसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो। भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका ३ बस्ने २१ वर्षीय बली यादव र भारतको मधुबनी जिल्ला लल्मनिया ग्रामपञ्चायत बस्ने २० वर्षीय छोटुकुमार यादव छन्।
उनीहरुले बोरामा लुकाई छिपाई ल्याउदै गरेको डाइलेक्स डीसी १ सय एमएलको ७० बोतल, नुर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजील्याब ३० एम्पुल बरामद भएको सिराहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान थालिएको घिमिरेले बताए।


























