असार ५ । करिम बेन्जिमा चम्किएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ।
बिहिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ३–० को जित निकालेको हो।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रियल गोल थपेको हो।
बेन्जिमाले ६१ औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए। ईडेन हजार्डले उपलब्ध गराएको पासमा बेन्जिमाले रियललाई अग्रता दिलाएका थिए।
मार्को एसेन्सियोले ७४ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे। ८६ औं मिनेटमा बेन्जिमाले भलीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सहज जित दिलाए।
बेन्जिमा रियल मड्रिडबाट सर्वाधिक गोल गर्ने पाँचौ खेलाडी बने। ३२ बर्षका बेन्जिमाले रियलबाट सबै प्रतियोगितामा २ सय ४३ गोल गरेका छन्।
जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब कायम राखेको छ। रियलले २९ खेलबाट ६२ अंक जोडेको छ।
शीर्ष स्थानको बार्सिलोना मात्र दुई अंकले रियल भन्दा अगाडी छ। भ्यालेन्सिया ४३ अंक सहित आठौं स्थानमा रहेको छ। एजेन्सी


























