काठमाडौं, असार ५ । कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १ सय ५३ जना नेपाली काठमाडौं आइपुगेका छन्।
१ सय ५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
उक्त विमानबाट साउदीमा वैदेशिक रोजगारीको शिलशिलामा निधन भएका एक नेपालीको शव पनि ल्याइएको उनले जानकारी दिए।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो। साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि हुने क्षेत्रीले जानकारी दिए।
उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि २ सय २६ जना प्राथमिकतामा परेका छन्। यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ।
यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ।
यस्तै आजै माल्दिभ्सबाट पनि १ सय ५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन्। यस्तै यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन्। फर्कनेहरुमा अधिकांश महिला छन्।
उनीहरूलाई लिएर उडेको नेपाल एयरलाइन्सको विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए।


























