असार ३ । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जीतेको छ।
मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जीत निकाल्दै म्युनिकले उपाधि जीतेको हो।
लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो। वेर्डरविरुद्ध बायर्नको जीतमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो।
खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए। उनले जेरोम बोटेङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए।
खेलको ७९ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो। अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोलीले अन्तिम समयमा एक खेलाडी बढी खेल्न पाएपनि गोल फर्काउन भने सकेन।
जीतसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो। दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक रहेको छ। डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्न १० अंकले अगाडी रहेपछि उपाधि पक्का भएको हो। एजेन्सी


























