असार ३ । यस बर्ष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुन कठिन देखिएको छ।
कोरोना भाईरसको महामारीका कारण यस बर्ष टी–२० विश्वकप क्रिकेट आयोजना गर्न कठिन देखिएको हो।
अष्ट्रेलिया क्रिकेटका अध्यक्ष अर्ल ईडिङ्सले समेत महामारीका बीच यस बर्ष विश्वकप आयोजना गर्न असम्भव जस्तै रहेको बताएका छन्।
उनले विश्वकप खेल्ने १६ देशका टिमलाई अष्ट्रेलिया पुर्याउन संम्भव नभएको समेत स्विकार गरे।
अक्टोबर र नोभेम्बरमा हुने प्रतियोगिताबारे आईसीसीले निर्णय लिन बाँकी रहेको छ।
गत जेठ २८ गते बसेको आईसीसीको बैठकले अर्को महिना विश्वकप सम्बन्धि निर्णय लिने बताएको थियो।
लगत्तै आयोजक देश अष्ट्रेलियाका अध्यक्ष ईडिङ्सले प्रतियोगिताको भविष्यलाई लिएर आफ्नो धारणा राखेका हुन्।
कोरोना भाईरसका कारण सबै अन्तराष्ट्रिय उडान बन्द छन्।
‘म यही भन्छु, यो मुस्किल छ। १६ टिमलाई अष्ट्रेलिया लिएर आउन सजिलो छैन। अझ धेरै देशमा कोरोनाको प्रकोप जारी छ।’ एडिङ्सले भिडियो कन्फरेन्समार्फत भनेका छन्।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) लाई लक्षित गरेर प्रतियोगितालाई स्थगित हुन सक्ने धेरैको अनुमान रहदै आएको छ।
अष्ट्रेलियामा महामारी सरकारी नियन्त्रणमा रहेको छ। अष्ट्रेलियामा ७ हजार मानिस संक्रमित देखिएका थिए। करिब ६ हजार बढी मानिस निकौ भईसकेका छन्। एजेन्सी


























