काठमाडौं, जेष्ठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा बजेटलाई लिएर सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेपछि बस्दैछ। सो बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने संसद सचिवालयको कार्यसूचि उल्लेख छ।
प्रधानमन्त्री ओलीले विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शिर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने छन्।
प्रधामनमन्त्री ओलीले सबै सांसदका प्रश्नको जवाफ समग्रमा दिने तयारी रहेको छ।
संसदको बुधबारको बैठकमा सभामुख अग्नि प्रशासद सापकोटाले सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश गर्ने छन्।
यस्तै बुधबार विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ।
यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ।


























