जेष्ठ २६ । ईभान राकिटिकले अर्को सिजन समेत बार्सिलोनमै बस्ने बताएका छन्।
आफ्नो भविष्यका बिषयमा गरिएका विभिन्न अड्कलबाजीमाथि टिप्पणी गर्दै राकिटिकले अर्को सिजन समेत बार्सिलोनमै रहने प्रष्ट पारेका हुन्। उनले यस सिजन नियमित खेल्न नपाउदाँ आफुलाई निराश बनाएको समेत स्विकार गरेका छन्।
राकिटिक सन् २०१४ मा सेभिल्लाबाट १६ मिलियन पाउण्डमा नाउ क्याम्प आएका थिए। उनले बार्सिलोनाका लागि २ सय ९९ खेल खेल्दै ३५ गोल समेत गरेका छन्।
क्रोएसियाका अन्तराष्ट्रिय खेलाडी राकिटिकले बार्सिलोनाबाट चार ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेका छन्। उनले बार्सिलोनामै रहदा आफुलाई युरोपको उत्कृष्ट मिडफिल्डरको रुपमा स्थापित गर्न सफल रहे।
गत समर ट्रान्सफरमा अजाक्सबाट फ्रेन्की डी जोङ बार्सिलोना आएपछि राकिटिकले कम अवसर पाएका छन्। यस बर्ष राकिटिकले मात्र १० ला लिगा खेलमा अवसर पाएका छन्। सोही कारण खेलाडी सरुवा बजार खुल्ने बित्तिकै सेभिल्लाले राकिटिकलाई पुन अनुबन्ध गर्न चाहेको छ।
तर राकिटिकले क्रोएसियाको मिडियालाई अन्तरवार्ता दिदै बार्सिलोना छाड्ने आफ्नो कुनै योजना नभएको बताएका छन्।
‘केही समय अगाडी मैले क्लबसंग यस बिषयमा छलफल गरेको थिए। निष्कर्श यही छ, मसंग कुरा गर्नका लागि कुनै चिज छैन। किनकी बार्सिलोनासंग मेरो सम्झौता सन् २०२१ सम्म रहेको छ। म बार्सिलोनासंग रहन चाहन्छु र खेल्न चाहन्छु।’ राकिटिकले भनेका छन्।
‘मेरी श्रीमती र बच्चा यस शहरमा खुसी छन्। अरु बिषयमा सोच्नुपर्ने कारण छैन। मैले राम्रोसंग अभ्यास गरिरहेको छु। म निश्चित छु, राकिटिकले बार्सिलोनामा लामो यात्रा तय गर्नेछ।’ उनले थपे।
राकिटिकको पछिल्लो एक बर्ष सफल राम्रो रहन सकेन। बार्सिलोनाको प्रशिक्षकमा क्विक सेटियन रहेका छन्। उनले गत जनवरीमा ईर्नेस्टो भाल्भर्डेलाई विस्थापन गर्दै बार्सिलोनाको कमाण्ड सम्हालेका थिए।
‘जब तिमी खेल्न पाउदैनौ, यो राम्रो हुदैन। अझ जब तिमीले बुझ्न सक्दैनौ र कुनै कारण थाहा पाउदैनौ।’ राकिटिकले भने, ुतर प्रशिक्षकको निर्णयलाई सम्मान गर्छु। म व्यक्तिगत नभएर टिमको खेललाई मान्छु।’
बार्सिलोनाले जुन १३ मा मार्लोकासंग खेल्दै ला लिगाको सुरुवात गर्नेछ। कोरोनाका कारण अबरुद्ध बनेको सिजनको बाँकी खेल बन्द रंगशालामा खेलाउने तयारी छ।
बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ। ला लिगमा अझै ११ चरणको खेल बाँकी रहेको छ। एजेन्सी


























