चितवन । भारतबाट आयातित कृषि उपजमा भन्सार कर बढाउन माग गर्दै चितवनका किसानले आन्दोलन चर्काएका छन्। शुक्रबार आन्दोलनका क्रममा किसानहरुले नारायणगढ बजारको पुलचोकमा गाडीका गाडी तरकारी ल्याएर सडकमा जात्रा गरे।
राज्यले स्थानीय उत्पादनको संरक्षण नगर्दा स्वदेशी किसान विस्थापित हुने अवस्थामा आइपुगेकोले राज्यले भारतीय तरकारीजन्य वस्तुमाथि भन्सार कर बढाएर नेपाली किसानलाई सघाउनुपर्ने किसान संघर्ष समितिका संयोजक लेखनाथ भूसालले बताए। ‘आज हामीले बाध्य भएर सडकमै तरकारी फालेका छौँ, यो विषयमा सरकारले कहिले सोच्ला ?’ उनले भने, ‘स्वदेशी उत्पादनलाई उचित मूल्य दिलाउन भारतबाट आएका तरकारीमा भन्सार कर बढाउने नीति ल्याउन आवश्यक छ।’
प्रदर्शनका क्रममा चितवनका किसानले सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दालगायतका तरकारी सडकमा फ्याँकेका हुन्। जिल्लामा करिब एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आए पनि भारतीय तरकारीका कारण स्थानीय उत्पादनले बजार नपाएको किसानको गुनासो छ।

चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको दाबी गर्दै अर्का किसान सुमन सुवेदी भन्छन्, ‘किसानको संरक्षणमा जबसम्म सरकारले चासो दिँदैन, तबसम्म नेपाली किसानको पीडा अन्त्य हुँदैन।’ यसअघि पनि चितवनका किसानले यसरी नै सडकमा तरकारी फालेर विरोध जनाएका थिए।
तरकारी किसानमात्र नभई दुग्ध उत्पादक किसान र अण्डा उत्पादक किसानलेसमेत सडकमै ल्याएर आन्दोलन गर्दै आएका छन्। कृषिमा आत्मनिर्भर बन्दै गएको चितवनमा स्थानीय उत्पादनले बजार मूल्य नपाउँदा सबै खालका किसान पेशाबाटै पलायन हुने अवस्थामा आइपुगेको किसानहरुको गुनासो छ। चितवनको उत्पादनले जिल्लालाई धानेर पनि काठमाडौँ, पोखरा, बुटवललगायतका सहर पुग्ने गरेको छ।
किसानले सडकमा तरकारी फालेर सरकारलाई दबाब दिएपछि विभिन्न खालका टिकाटिप्पणी हुन थालेका छन्। शुक्रबार दिउँसो नारायणगढको पुलचोकमा तरकारी फालेपछि त्यहीँको तस्बिरले सामाजिक सञ्जाल रंगिएका छन्। सामाजिक सञ्जालबाटै सरकारलाई दबाब दिन तरकारी फाल्नुको विकल्प खोज्नुपर्ने आवाजसमेत उठेका छन्।
भिडियो हेर्नुहोस्ः


























