महोत्तरी, जेष्ठ २२ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ। एक लागुऔषध कारोबारीले प्रहरीको आँखा छलेर गर्दै आएको कारोवार यो घटनाले उदाङ्गिएको छ।
पहिलेदेखि नै सो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा लागेको प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १ सय ८० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। गत मङ्गलबार राति प्रहरी निरीक्षक केदार बस्नेत नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण गरिएको पत्ता लगाएको हो।
कारोवार सञ्चालन गर्दै आएका ५२ वर्षीय चौधरी भने फरार छन्। जिल्लामा पछिल्ला तीन वर्षयता यति धेरै परिमाणमा गाँजा फेला परेको यो पहिलो अवसर हो। भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिका लागुऔषध गाँजाको सघन ओसारपसार हुने केन्द्रका रूपमा चिनिने गरिन्छ। यस गाउँपालिकाको अजमरपट्टी बस्ती एकदशक पहिलेसम्म संसारभरिकै गाँजा तस्करको उठबस हुने ठाउँका रूपमा चिनिन्थ्यो। तर गाँजाखेती र कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढ्दै गएपछि कारोवारीले नजिकका अन्य बस्तीलाई धन्दा चलाउन आश्रयस्थल बनाउँदै आएका छन्। जिल्लाका अन्य क्षेत्रमा पनि गाँजाखेती गरिएको भेट्टिए पनि धेरैजसो एकडारा गाउँपालिका क्षेत्रभित्रका बस्तीमा वर्षेनीजसो प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ। रासस


























