जुम्ला, जेष्ठ २१ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाको अवधिभर कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिए।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ।
जुम्लामा मंगलबारसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफुल, तरकारी लगायतका पसलहरु खुल्दै आएका छन्।



























