काठमाडौ, जेष्ठ २१ । बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्। जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।
झडपको क्रममा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता तिलक भारतीले जानकारी दिए।
झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गर्नुपरेको डीएसपी भारतीले बताए। सशस्त्र प्रहरीका प्रवक्ता प्रविण कुमार श्रेष्ठले स्थिति नियन्त्रण गर्न सशस्त्रले ४ राउण्ड हवाई फायर गर्नुपरेको पुष्टि गरे।
दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ।
घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।


























