चितवन, जेष्ठ २० । चितवनको भरतपुर महानगरपालिका वडा नं २८ ले भैरहवाको सुनौली नाकाबाट ४७ जनाको उद्धार गरेको छ। महानगरपालिकाको समन्वयमा बडा नं। २८ ले भारतको हैदरावादबाट सुनबल आएका ४७ जनाको उद्धार गरी ल्याएको हो।
उद्धार गरिएकामा वडा नं २८ का ३८ र अन्य स्थानका ९ गरी ४७ छन्। वडाध्यक्ष आशबहादुर कुमाल र स्थानीयवासी श्याम अधिकारीसहितको टोलीले महानगरले उपलब्ध गराएको बसमार्फत उनीहरुको उद्धार गरेको हो।
वडाध्यक्ष कुमालका अनुसार वडा नं। २८ का ३८ जनासँगै वडा नं. २२ का ३ जना, १७ र २१ का दुई÷दुई जना, राप्ती नगरपालिका वडा नं. ८ र नवलपरासीको कावासोतीका समान एक÷एक जनाको उद्धार गरिएको हो।
शुरुमा नाम टिपाउँदा सबैले आफ्नो ठेगाना वडा नं. २८ नै भने पनि उद्धारका लागि सुनवल नाका पुग्दा उनीहरु फरक–फरक वडाका पाइएको वडाध्यक्ष कुमालले बताए। ‘जहाँका भए पनि नेपाली नागरिक नै भएकाले सबैको उद्धार गर्यौं,’ वडाध्यक्ष कुमालले भने, ‘उद्धार गरिएकालाई सम्वन्धित स्थानीय तहको वडामा जिम्मा लगाइएका छौं।’
वडा नं २८ का ३८ जनालाई वडा कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टिनमा राखिएको छ। उनीहरुलाई सरस्वती माध्यमिक विद्यालय जितपुरको क्वारेन्टाइनमा राखिएको छ।
यस्तै, केहीलाई शिशावास आधारभूत विद्यालय र लौखोरी आधारभुत विद्यालयको क्वारेन्टिनमा राखिएको उद्धारमा खटिएका स्थानीय श्याम अधिकारीले जानकारी दिए। घर फर्किन चाहने थप नागरिकलाई पनि छिट्टै उद्धार गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।


























