काठमाडौं, जेष्ठ २० । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका व्यवसायलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुला गरेको छ।
सहुलियतपूर्ण ऋण प्रवाहका लागि बैंकले पुनर्कर्जा कार्यविधि स्वीकृत गरी सोमबार सार्वजनिक गरेको हो।
उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैंकहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाइनेछ।
उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा वर्गिकरण गरिएको छ।
राष्ट्र बैंकको प्रावधान अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ।
सो कर्जाबापत बैंकहरुले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन्। राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण उपलब्ध गराउनेछ।
त्यस्तै, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ। यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ।
विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ। यस्तो ऋण राष्ट्र बैंकले बैंकहरुलाई क्रमशः १ प्रतिशत र ३ प्रतिशत उपलब्ध गराउनेछ।


























