काठमाडौं, जेष्ठ २० । लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए। लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ।
यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ। यसले लकडाउन मात्रै कोभिड–१९ संक्रमण रोकथामको उपाय होइन भन्ने प्रष्ट्याएको छ।
यो कुरा विज्ञहरुले बताउँदै आएपनि सरकारले लकडाउनलाई निरन्तरता दिँदै आएको छ।
उद्योगी व्यवसायी लगायतले लकडाउन खुकुलो बनाउँदै व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्न थालेका छन्।
सबैतिरबाट दवाव पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी थालेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अब विशेषज्ञहरुको राय लिएर मोडालिटी बन्ने र त्यसकोआधारमा सरकार अघि बढ्ने बताए।
मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ।
सोही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन्।
‘लकडाउन अब क्रमशस् सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ,’ उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्छ र त्यसका आधारमा सरकार अघि बढ्छ।’
पछिल्लो पटक सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ३२ गतेसम्म पुर्याएको छ। लामो समय लकडाउन हुँदा जनजीवन समेत प्रभावित बन्न थालेको छ।
प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ। अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
यो अवधिमा अत्यावश्य खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका मात्र खुल्ने गरेका छन्। मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन्।


























