तपाईँहरू कुन समाजको कुरा गर्दै हुनुहुन्छ? ठूलो जात? सानो जात? यो त्यही समाज हो, जहाँ एक पुरूषको २, ३ जनासम्म श्रीमती छन्। र, यो त्यही समाज हो, जहाँ बाउबाट छोरी बलात्कार भएको समाचार दैनिक जसो आइरहेका हुन्छन्। यहाँ उच्च जात भनिएकाहरूकै घरभित्र परिवारका सदस्यको आवाज दबिएको छ। आफू र आफ्नै परिवारका सदस्य नैतिक पतन भएका छन्। तर दुर्भाग्य तिनैले समाजमा छुवाछुतको पक्षमा ठूलो आवाज गर्छन्।
तपाईँ जब ऐनाको नजिक उभिनुहुन्छ, तब सबैभन्दा पहिले आफ्नै अनुहार हेर्ने गर्नुस्। अनि बल्ल अरूलाई देखाउने प्रयास गर्नुस्। प्रेम अन्धो हुन्छ, प्रेमलाई बिहेमा परिणत गर्ने सबैको चाहना पुरा हुन्छ भन्ने छैन, किनकि प्रेम जात हेरेर हुँदैन, मन हेरेर हुन्छ। कुनै व्यक्तिले बनाएको मूर्ति मन्दिरमा पुजिन्छ, तर त्यही व्यक्ति मन्दिरमा पुग्नासाथ त्यो मन्दिर नै बिटुलो भइदिन्छ ! त्यो मूर्ति त तिम्रो आफ्नो परिश्रम हो नि, त्यो मूर्तिले त उच्च स्थान पाउनासाथ तिम्लाई बिर्सेछ नि? त्यही मूर्तिले तिम्लाई बोलाउन किन सकेन? सिलाएको लुगा लगाउन हुन्छ, फलामका सामान, गरगहना सबै चल्छ। तर, तिनैले लगाएको माया चल्दैन। कसैले बिहेमा बजाएको बाजा चल्छ, तर उनैसँग बिहे चल्दैन। यो कस्तो विरोधाभाष हो, हाम्रो समाजको?
सानैमा स्कुल जाँदा आमाले जामाको खल्तीमा एकमुठी मकै राख्दै भन्नुहुन्थ्यो, कसैले केही खानेकुरा दिए पनि नखानू, भर्खर खाएर आएको हो भन्नू भनेर। आमाले रातदिन यही सिकाउनुभयो। त्यतिबेला मैले देख्थेँ, बाटोमा माग्नेले टाढाबाट आफ्नो पोल्टो थापेको। किन पर बसेर मागेको होला, किन नजिक नगएको होला भन्ने सोच्थेँ, मेलापातमा काम गर्ने काकीहरूले पनि पोल्टा थापेर खाजा खाएको देख्थेँ। उहाँहरूलाई कसैले हातमा केही दिँदा छुनै हुन्न जस्तो गरेको देख्थेँ। अनि हामीलाई पढाउने स्कुलमा पनि छुवाछुत अन्त्य गर्नुपर्छ भनेर पनि कहिल्यै सिकाएनन्। यो सबै देखेर हुर्किँदा मलाई पनि छुन नहुने होला भन्ने लाग्थ्यो। तर कारण के हो? कहिल्यै थाह भएन, लाग्थ्यो परम्परा होला, सबैले मान्नुपर्छ !
एकदिन एउटा वृद्ध आमै घरमा केही माग्दै आउनुभयो, मलाई के लाग्यो भने यी आमाले पनि मैले छोएको खानुहुन्न होला। म यत्तिकै घरभित्र पसेँ। तर, ती आमा घन्टौंसम्म बाहिर कुरेर बस्नुभएको रहेछ। त्यो देखेर मेरो बुवा–आमाले मलाई नराम्रैसँग हपार्नुभयो, घरमा आउनेलाई आफूसँग जे छ त्यही दिनुपर्छ, रित्तो हात फर्काउनुहुन्न भनेर। बुवाले सम्झाउँदा मैले आफूलाई लागेको कुरा डराउँदै बिस्तारमा सुनाएँ। अनि मेरो बुवाले भन्नुभयो, ‘छोरी अछुत त ती हुन्, जसले आफ्नालाई मारेका छन्, जसले अरूलाई रूवाएका छन्, जसले अरूलाई दबाएको छ, जसले ठूलो जात भन्दै कलंकित तुल्याएका छन्। त्यसैले मान्छेको कर्मले जात देखाउँछ छोरी, थरले होइन। जात, धर्म हामी आफैँले बनाएको हो, त्यसैले हामी जातको पछि हैन, सतकर्मको पछि लाग्नुपर्छ।’
त्यो दिन मलाई बुवाले धेरै कुरा सिकाउनुभयो। त्यसपछि जात के हो, कुजात के हो भन्ने अन्धविश्वासमा पर्नबाट म जोगिएँ हूँला सायद। जात छ भनेर के गर्नु? बाजा बजाएर जात राखेर बिहे गरेको हुन्छ। तर, श्रीमानको अर्कै श्रीमती पनि छन् भन्ने कुरा घरकै श्रीमतीलाई थाह हुँदैन। छोरो पाउनै पर्ने बाध्यता, नत्र श्रीमानको प्यारो हुन नसकिनेलगायत घरेलु हिंसाले पीडित हजारौँ महिला अझै पनि बोल्न सकिरहेका छैनन्। करोडौं खर्च गरेर गरेका विवाह केही महिना पनि टिक्दैनन्। तर हामी यस्ता कुरा बिर्सिएर मन मिलेरै हुने अन्तरजातीय विवाहमा मात्रै समस्या देख्छौं। र, तल्लो जात भनेर मान्छेलाई अपमानित गर्छौ।
दलित वा तल्लो जातका बालबालिकाहरू विभेद र अपमान सहेरै हुर्कन बाध्य छन्। पानी पिउने धारामा तिनलाई पानी पिउन नदिने, स्कुलको डेस्क–बेन्चमा दलित छन् भनेपछि अरू उच्च जातीका गएर नबस्ने, क्याम्पसको क्यान्टिनमा छोइएला झैँ गर्ने, यस्तो विभेद सबैतिर फैलिएको छ। यस्तो तिरस्कारमा जन्मिएको मान्छेले माया गर्न निधारमा आफ्नो जात लेखेर हिँड्नु पर्ने हो र? अनि आफूभन्दा माथिल्लो जातको केटीसँग माया, प्रेम गरेकै भरमा मारिनुपर्दा, श्वास फेर्नै नपाउँदा, सबैसँगको नाता तोड्नुपर्दा त्योभन्दा ठूलो सामाजिक विभेद अरू के हुन सक्छ? यस्ता धेरै प्रश्न मनमा उब्जिन्छन्, तर के भन्ने के लेख्ने? मुटु र हात सँगसँगै काँप्छन्। ठूला भनौदाका शब्दले मनमा तीर हान्छ। तर, दलितको मौनताले उसैलाई भित्रभित्रै मारिदिन्छ, यति सबै हुँदा कसरी हेरेर बस्नु, कसरी सुन्नु? मान्छे र पशुको भेद अब हराएकै हो?
म मेरा थुप्रै साथीहरू सम्झन्छु, जो दलित भनिन्छन्। तर, उनीहरूको संस्कार, दैनिकी, चालचलन, खानपान कुनै उच्च ब्राम्हणको भन्दा शुद्ध छ। सुखमा मात्रै होइन, दुःखमा पनि उत्तिकै मायालु छन्, दयालु छन्, सहयोगी छन् र अप्ठ्यारोमा पनि सधैँ सँगै छन्। हुन सक्छ उनीहरूले समाजलाई मैलेभन्दा राम्रोसँग बुझेका छन्। तसर्थ मलाई लाग्छ हामीले आफ्नो सन्तानलाई दिने भनेको संस्कार हो, राम्रो शिक्षा हो, नैतिक मार्गदर्शन हो, अरूको जातमा प्रश्न गर्न सिकाउने होइन।
दलित शब्द कुनै पनि आमा–बुवाले न्वारनमा आफ्नो सन्तानलाई इच्छाले राखिदिएको नाम होइन। मान्छेले मान्छेलाई छुनुहुँदैन भन्नेलाई बरू हामीले दलित शब्दको उपनाम दिनुपर्छ। हुन त यो सतीले श्रापित गरेको देश हो रे। कलिलै उमेरमा आफ्ना श्रीमान गुमाउँदा, श्रीमतीलाई श्रीमानसँगै चितामा भालाले घोचीघोची पोल्थे रे, उनीहरू भक्कानो फुट्ने गरी रून्थे रे। तर, बाँकी सबै उनी जिउँदै जलेको हेर्दै बस्थे रे। घरीघरी त लाग्छ, त्यस्ता सतीको आँसुले यो देश अझै पनि श्रापमै डुबेको छ र त यस्ता जघन्य अपराध भएको सुन्नपर्छ।
एकै खालका देखिन्छन्, सलाईका ती काँटीहरू। जुन कोर्दा सम्पन्न वर्गको घरमा उज्यालो छाइदिन्छ भने, त्यही अर्को काँटी कोर्दा दलितको घरको खुसी नै खोसिदिन्छ। मेरा प्रिय दलित साथीहरू, सक्छौ भने तल्लो जाती र अछुतको विशेषण लिनुपर्ने यो श्रापित भूमीमा जन्म नलिनू। जन्म लिनै परेछ भने कर्मले ब्राम्हण हुनू, आचार्य गुरु बन्नू, पूजारी बन्नू, ताकि कसैले प्रश्न गर्न नसकोस्। तिम्रो कर्मप्रति सबैले लम्पसार परेर ढोग गरुन्। अझै सक्छौ भने यो जन्ममा तिमीले भोगेका सबै पीडा, उच्च जातीलाई गर्न लगाउनु। तर त्यसदिन छुवाछुत भने नगर्नू, पानी नबार्नू, ममाथि विश्वास गर म आफ्नो भगवान परिवर्तन गरेर तिम्रो पूजा गर्न थाल्नेछु।
























