चितवन। कोरोना महामारी रोकथामको लागि भन्दै करिब साढे दुई महिनादेखि लकडाउन जारी रहेपछि नेपालको अर्थतन्त्रमा ठूलो असर पुगेको भन्दै चितवनका व्यवसायीले आवश्यक तयारी पूरा गरेर व्यवसाय सञ्चालन गर्न माग गरेका छन्।
चितवन जिल्लाको मुख्य बजार क्षेत्र पुलचोक, सहिदचोक, बेलचोकलगायतका स्थानमा व्यवसायीले सोमबार पोष्टर टाँसेर सरकारसँग स्वतस्फुर्त व्यवसाय खोल्न दिनुपर्ने माग गरेका हुन्। लकडाउनबाट पीडित व्यवसायीहरूको स्वतस्फुर्त उपस्थितिमा कोरोनाबाट बँच्नको लागि सुरक्षाका आवश्यक उपाय अपनाएर जिल्लाका पसल तथा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित व्यवसायीहरूले बजार क्षेत्रका सटरहरूमा उक्त पोष्टर टाँसेर सरकारको ध्यानाकर्षण गराएका व्यवसायी सोमप्रसाद काप्रीले बताए। व्यवसायीले लकडाउनको ‘मोडालिटी’ परिवर्तन गरेर आर्थिक गतिविधि खुकुलो बनाउन पनि सरकारसँग आग्रह गरेका छन्। ‘लकडाउनको विकल्प खोजेर संयमित र गतिशील उपाय रोज्नु आजको आवश्यकता भइसकेको छ,’ उनले भने, ‘त्यसैले अब सबै उद्योग व्यवसाय सञ्चालन गर्नुपर्छ।’

लकडाउनको पालना गर्दै, सुरक्षित व्यवसाय सञ्चालनको माग गर्दै व्यवसायी सटरसटर पुगेका थिए। बैंक व्याज, घरभाडा, कर्मचारीको तलबलगायतका समस्या समाधानको लागि पनि बजारका व्यवसाय खोलिनुपर्ने व्यवसायीहरूको माग छ। ‘सुरक्षित सामाजिक दुरीसहितको व्यवसाय सञ्चालन आजको आवश्यकता हो, संकल्प पोखरेलले भने, ‘मानव स्वास्थ्यको ख्याल राख्दै, व्यापार व्यवसाय सुचारू गर्नुपर्छ। कोरोनाको जगजगी लामो समयसम्म रहने लक्षण देखाइसकेकोले सधैंलाई लकडाउन गरेर समस्या समाधान नहुने उनको भनाइ छ। सरकारले सुरक्षित व्यवसाय सञ्चालनको नियम ‘प्रोटोकल’ बनाए सबै व्यवसायीले त्यसको पालना गरेर व्यवसाय चलाउन तयार रहेको उनले बताए।
सोमबार व्यवसायीहरूले ‘आर्थिक विकास र रोजगारको आधार, उद्योग व्यवसाय संकटमा छ सरकार ! संकट समाधानका लागि हाम्रो खबरदारी’ ‘जनस्वास्थ, जनजीवन र व्यवसाय हाम्रो सरोकार, सावधानीपूर्वक सञ्चालन गरौं पेसा कारोबार’, ‘लकडाउन थेग्न गाह्रो भो, खर्च धान्न साह्रो भो!’ लगायतका नारा लेखिएका पोष्टर सटरसटरमा टाँसेका थिए।
कोरोना भाइरस रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेपछि अत्यावश्यकबाहेकका सबै सेवा ठप्प छन्। पटकपटक थप गर्दै आएको लकडाउन पछिल्लो निर्णयअनुसार जेठ मसान्तसम्म जारी रहनेछ।


























