– जोन कँडेल
कसैको जात, धर्म, वर्ण र लिङ्गका आधारमा छुवाछूत गर्नु, विभेद गर्नु मानवता विरोधी कुकर्म हो। जातकै आधारमा कसैको हत्या हुनु घोर निन्दनीय छ। २१औं शताब्दीमा पनि राजनैतिक, सामाजिक र धार्मिक संरक्षणमा यस्तो कुकर्म हुनु नेपाल र नेपालीकै लागि मात्र नभै सिंंगो मानव जातीकै लागि कलंकको विषय हो। यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल कारवाही हुनुपर्छ।
आधुनिक युगको शिक्षित र चेतनशील भनिएको समाजमा विद्यमान जातीय छुवाछूत र भेदभाव एउटा कुरुप र भद्दा दृश्य हो। यसको जति नै निन्दा र भर्त्सना गरे पनि कम हुन्छ। अझ यस्ता घटनामा परिवर्तनकै सम्बाहक जनप्रतिनिधिको संलग्नता देखिनु भयानक लज्जाको बिषय हो। जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया …….मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। संविधानतः दलित भनिएको समुदायका नवराज र संविधानतः दलितमा नपर्ने भनिएको ठकुरी समुदायकी ती युवतीको ‘जात’ नेपालको संविधानअनुसार नै नमिल्दो देखियो। जात नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे। त्यसैले नवराज जेठ १० गते शनिबार राति आफ्ना केही साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी गएका थिए। दुलही लिन गएका नवराज समाजमा व्याप्त जातिय विभेदको शिकार बने।
अलि पहिले पोखरा–१६ बाटुलेचौरका मोहन सुनारको परिवारले पनि त्यस्तै प्रकृतिको घटना सहनुपरेको थियो। भाइ सम्मरबहादुर सुनारको दुवईमा निधन भएको थियो। यता सम्मरबहादुरका छोरा मनोजले जातकै कारण सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न पाएनन्। भाइ मर्दा पनि मेरो नभएको समाज मलाई चाहिँदैन भनी मोहनले नेपाली समाजप्रती रोस प्रकट गरेका थिए।
यसरी ‘जातीय छुवाछूत मुक्त’ घोषित मुलुकमा श्रृंखलावद्दरुपमा छुवाछूत र विभेदका घट्ना हुनु नेपाली समाज र कानुनको उपहास हो। पछिल्लो समय छुवाछूतमा केही कमी देखिए पनि जातिय विभेदमा परिवर्तन हुन सकेको छैन। धार्मिक खोलभित्र साम्प्रदायिक शक्तिहरुले समाज मात्र होइन परिवारभित्रै छुवाछूतको भावना जागृत गरिरहेका छ्न्। त्यस्ता साम्प्रदायिक शक्तिहरुलाई तिरस्कार गर्नुको सट्टा नेता, मन्त्रीहरुबाटै त्यसको संरक्षण हुँदै आएको पनि देखिन्छ। कुनै पनि विभेदमुक्त समाज निर्माणको नारा दिएर समाज रुपान्तरणका लागि आफूलाई स्वघोसित क्रान्तिकारी ठानेर लड्नेहरु नै आज छुवाछूत र विभेदसहितको समाज निर्माण र त्यही प्रवृत्ति संरक्षण गर्न लागि परेका छ्न्, धिक्कार छ।
क्रान्तिकारी भनिएको सोचभित्र लुकेको कुरिति वा अन्धविस्वास समाजको लागि अझ घातक हुन्छ। क्रान्ति क्रमशः आफ्नै सोचसँग, परिवारसँग अनि समाजसँग हुनुपर्दछ। कुनै एक घटनासँगै विरोधका आवाज उठ्छ्न्, कानुन राजनीति र पहुँचबाट प्रभावित हुन्छ। अपराधी दण्डित हुनबाट उम्किन्छ, फेरि अर्को घटना घट्छ। फेरि विरोधका स्वर सुनिन्छ्न्, समाजको एक पक्ष केही समय तात्छ अनि सेलाउँछ। यहाँ विभेद र छुवाछूतको सोच हरेक घरभित्र छ। जातिय विभेद अगेनामाथिको काठको ध्वाँसो जस्तो हरेक मनभित्र गढेर बसेको छ।
विरोध गर्दैगर्दा नेपाली जात, धर्म, संस्कार र परम्परा माथि नै धावा बोल्न भने आवश्यक छैन। हाम्रा आ–आफ्नै जातिय मौलिक संस्कार, चलन र परम्परा पनि छ्न्, जो यस्तै घटनालाई आधार बनाएर नेपाली सामाजिक बनावट नै भत्काएर आफ्नो स्वार्थ स्थापित गर्न चाहान्छ्न्। विरोध जातको कारण हुने मानवीय विभेद र छुवाछूत विरुद्ध हुनुपर्छ, कुनै पनि जातजाती विरुद्ध होइन। कोही हुन्छ्न्, अन्तरजातिय विवाह गरेकै कारण छोराछोरीलाई घर निकाला गर्ने। तर सञ्जाल र मञ्च पाए ठूला गफ छाँट्ने। त्यस्ता व्यक्ति समाजका लागि धमिरा हुन्। कोही हुन्छ्न् अरुलाई पर्दा ठूलो स्वर गर्ने आफ्नै घर परिवारमा पर्दा लुक्ने। सोच बदलौं विवेक प्रयोग गरौं।
सायद, सायद है नवराज विकको परिवारमै पनि विभेदको सोच नहोला भन्न सकिन्न। जात नमिल्ने कुरा त्यही परिवारबाट पनि आएको छ। ‘जात मिल्दैन’ भन्नु त्यो विभेदको सोच हो। संविधानतः कथित दलित समुदायका जातभित्र पनि पानी बाराबारको स्थिती मैले देखेको छु र अझै पनि छ। एउटै जातभित्र पनि विभेद छ। कथित उपल्लो जातभित्र पनि श्रेणी छ। धेरैलाई थाहा नुहुन सक्छ, त्यो श्रेणीको विभेद कथित उपल्लो जात र कथित दलित जातबीचको विभेदभन्दा पनि कडा विभेद हुन्छ।
अर्को हुन्छ, धार्मिक साम्प्रदायिकताले ल्याएको विभेद। मैले छोएको पानी मेरो घर चल्दैन, म आफैं भिक्टिम हुँ। त्यो साम्प्रदायिक संस्कार अंगालिएन भने छोराले बिरामी आमालाई पानी खुवाउन पनि पाउँदैन। जब कुरिती र अन्धविस्वासविरुद्ध परिवारभित्रै साइलेन्ट विद्रोह गरें म तिरस्कार भएँ सम्प्रदायबाट। समाजमा मलाई हेर्ने दृष्टिकोण बदलियो। घरभित्रै छुवाछूतको कुसंस्कारभित्र हुर्केको म जातिय छुवाछूत र विभेदको सोच भने कहिल्यै आएन। कथित दलित समुदायसँग जोडिँदा भोग्नुपरेका पारिवारिक र व्यावसायिक तिता अनुभव चाहिँ छ्न्। जातिय छुवाछूत र विभेदको नियन्त्रण कानुनले गर्ला। तर सोचमा परिवर्तन ल्याउन चेतना चाहिन्छ, विवेक चाहिन्छ। परिवर्तनको लागि चेतनाको दियो बालौं र आफ्नै मनबाट शुरु गरौं।
एउटै व्यक्तिभित्रका केही विवादास्पद सोचको पनि कुरा गरौं। पार्टी, समारोह, रेस्टुरेन्ट, सार्वजनिक यातायात आदि ठाउँमा नहुने जातिय छुवाछूत घरमा चाहिँ किन हुन्छ? कथित दलितसँग छोइनु पाप हो अधर्म हो भने ती ठाउँमा छोइनु चाहिँ पाप अधर्म किन भएन? यौनकर्मीको जात नचाहिने कथित उपल्लो जातिलाई बिहे गर्दा चाहिँ जात किन चाहिने? आजभोलि जातिय विभेद र छुवाछूतमा वर्ग पनि सँगसँगै जोडिएर आउँछ। कथित दलित समुदायको व्यक्तिको आर्थिक अवस्था हेरी ऊसँग गरिने व्यवहार फरक हुन्छ। धनीको जात नचाहिने गरिबको जात चाहिने किन?
समयसँगै नयाँ पुस्तामा केही परिवर्तनका संकेत भने देखिएका छ्न्। सम्बन्ध गाँस्न जातिय अवरोध भए पनि छुवाछूतको विभेद भने कम हुँदै गएको छ। भान्सासम्म नपुगे पनि बेडरुम र गेस्ट रुमसम्म छुवाछूत नगर्ने भावानाको विकास भएको छ। यी सकारात्मक संकेतहरु हुन्। रुकुम घटनामा पनि पीडित केटाकेटीले आ–आफ्नो जात थाहा हुँदा पनि प्रेम सम्बन्ध राखी विवाह गर्न साहस गर्नु र हाम्रो सम्बन्धमा जातले असर गर्दैन भन्ने सोच राख्नु नयाँ पुस्तामा देखिएको परिवर्तन हो। चेतना हो, विवेक हो। दुःखद घटना भयो। असफल प्रेम कथा नै अमर बन्छ्न्। यो प्रेम कथा समाजमा व्याप्त जातिय विभेद छुवाछूत जस्तो कुसंस्कारको अन्त्य गर्न सक्ने मिसाइलको रुपमा अमर बन्न सकोस्। यस घटनामा ज्यान गुमाएका नवराज विक र अन्य साथीहरुप्रती हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।
नेपाली–नेपालीबीच कुनै जातिय, लिंगिय, वर्गिय भेदभाव रहनुहुँदैन भनेर भन्छौं हामी। तर, त्यही मान्यताको विपरित हाम्रो देशको संविधानले नै नेपालीलाई यस्तै अनेकौं कित्तामा चिनाएको छ, जसले सीधा अर्थमा नेपाली एक हैनन् है भन्ने भावाना बनाइदिएको छ। अनि यसलाई नै महान उपलब्धी भन्नेहरु नै देशको नेतृत्व तहमा छन्। यिनीहरु नै नेपाली–नेपालीबीच भेदभाव फैलाएर फाइदा लिने गर्छन्। त्यसैले संविधानमा भएको यो विभेदकारी उपलब्धी फिर्ता गरौं र भनौ ‘नेपाली हामी एक हौ।’
भरतपुर–४, चितवन।























